नवलपरासीबाट ३४७ महिला प्रतिनिधि चयन हुने

0

नवलपरासी, ८ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् ।

विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने भएका हुन् जसमध्ये कम्तीमा १६६ जना दलित महिला जनप्रतिनिधि चयन हुँदैछन् । राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । यता गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ ।
साथै, प्रत्येक नगरपालिकामा वा गाउँपालिकामा चयन हुने चारजना वडा सदस्यमध्ये दुईजना महिला अनिवार्य छ जसमध्ये एकजना दलित महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ ।
जिल्लामा हाल कायम भएको १५ वटा स्थानीय तहबाट ती महिला जनप्रतिनिधि चयन हुन लागेका हुन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।
नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो ।
नगरपालिकाको हकमा एकजना प्रमुख, एकजना उपप्रमुख, प्रत्येक वडामा वडा अध्यक्ष र प्रत्येक वडामा चार–चारजना वडा सदस्य चयन हुनेछन् जसमध्ये वडा सदस्यको हकमा दुईजना खुल्ला, एकजना महिला र अन्य एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान छ ।
राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुख र गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्ने भए पनि स्वतन्त्र उम्मेदवारको हकमा सो प्रावधान लागू छैन ।
नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीमा कुल तीनलाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ जसमध्ये पुरुष मतदाता एक लाख ८० हजार ३१६ रहेको छ भने महिला मतदाता एक लाख ८९ हजार ५९४ रहेको छ । यसैगरी आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गरेका छन् । रासस

Leave A Reply