दमौली अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

0

दमौली, ८ वैशाख । एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे । दमौली अस्पतालका डा कुलदीप केसीले रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । अत्यधिक गर्मी बढेसँगै त्यस्ता बिरामीको सङ्ख्या बढेको हो, डा केसीले भन्नुभयो । आकस्मिकमा समेत दैनिक ३५÷४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी अहेब रामकला पन्थले बताउनुभयो ।
बिरामीको अवस्था हेरेर एन्टिबायोटिकसमेत दिने गरिएको उहाँले बताउनुभयो । बिरामीलाई पानी उमालेर खान, बासी सडेगलेका खानेकुरा नखान, वरपरको वातावरण सफा राख्न, शौचालय गएपछि साबुन पानीले हात धुन, सफा सुग्धर भएर बस्न सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकले बताए । ब्यास नपा, जामुने, रिसिङ, म्याग्देलगायतका गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । रासस

Leave A Reply