तरकारी खेती र मासु व्यवसायबाट मनग्य आम्दानीगर्दै सुदूरपश्चिमका कृषक

0

डोटी, ३ पुस २०७३ । लाटामाडौँ, ९ तिलतालीका कृषक मैनादेवी बोगटीको बारीमा हरेक मौसममा लटरम्म गोलभेँडा फलेका हुन्छन् । मौसमअनुसार खुल्ला ठाँउमा र हिउँमा प्लास्टिकको घर बनाएर उहाँले तरकारी फलाउने गर्नुभएको छ ।

आफ्नै बारीमा पसिना चुहाएर फलाएको गोलभेँडाले राम्रो बजार पाएपछि उहाँले यसवर्ष मात्रै १८ क्वीन्टल गोलभेँडा प्रतिकेजी रु ५० को दरले गाउँमै बेचेको बताउनुभयो ।

गोलभेँडाबाट राम्रो आम्दानी भएको र एक मौसममा ६ क्वीनटलसम्म बेच्दा रु ५० हजार भन्दा बढी आम्दानी हुने गरेको कृषक बोगटीको भनाइ छ ।

सेवक नेपाल संस्थाबाट पोली हाउस र बीउविजन पाएदेखि बेमौसममा समेत राम्रो आम्दानी गर्न उहाँ सफल हुनुभएको हो ।

सो संस्थाको सहयोगमा लाटामान्डौँकै भोजबहादुर महरासमेत गोलभेँडखेतीतर्फ आकर्षित बन्नुभएको छ । उहाँले पनि आफ्नै बारीमा बेमौसममा समेत गोलभेँडा फलाएर मनग्य आम्दानी गर्नुभएको छ ।

सोही संस्थाको सहयोगमा लाटामान्डौ– ८ का रमेश बलायरले पनि बोइलरका चल्ला उत्पादन गर्दै आउनुभएको छ । डोटीमा पहिलो पटक ह्याचरी मेसिनबाट बोइलर चल्ला उत्पादन गर्नुभएका उहाँका आफ्नै मासु पसल समेत छ ।

डोटीमा सो संस्थाले पोषण तथा खाध्य सुरक्षा परियोजना कार्यक्रम लागू गरेपछि जिल्लाका खातिवडा, बाँझककानी, पचनाली, लाटामाण्डौँ र बारपाटाका कृषक आयआर्जजनका क्रियाकलापमा सक्रिय हुन थालेका हुन् ।

Leave A Reply