छालाको डोकाको व्यवसाय फस्टाउँदै

0

रोल्पा, ३ फागुन । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टङ्कबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उहाँको व्यस्तता बढेको हो ।

जिल्लामा मात्र नभई चितवन, पोखरा, काठमाडौँलगायत ठाउँका इँटाभट्टामा छालाको डोकोको माग बढ्दै गएको छ । एउटा राँगा र भैँसीको छालाबाट करिब तीन वटासम्म डोको बनाउन सकिने बुढामगर बताउनुहुन्छ । प्रतिडोकोको मूल्य रु एक हजारदेखि रु एक हजार २०० सम्म पर्छ ।

छालाको डोको बनाएर बुढामगरले मासिक रु ३० हजारदेखि ४० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । डोकोलाई घामपानीबाट बचाउन सके पाँचदेखि सात वर्षसम्म टिक्ने उहाँ बताउनुहुन्छ । बुढामगरको आर्थिक अवस्था कमजोर थियो । आम्दानीको स्रोत थिएन । उहाँ रोजगारीका लागि कुबेत पुग्नुभयो । सोचेअनुसारको कमाइ नभएपछि उहाँ घर फर्कनुभयो ।

श्रीमतीको पत्थरीको शल्यक्रिया गर्नुपरेपछि बुढामगरलाई गरिबीले नराम्रोसँग पिरोल्यो । उपचारमा लागेको ऋण तिर्ने मनसायले उहाँले लिबाङमा २०५७ सालदेखि मासु पसल सञ्चालन गर्नुभयो । उहाँले मासुसँगै छालाको डोको बनाएर बिक्री गर्न थाल्नुभयो । “पछिल्ला दिनमा छालाको डोकोको माग बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

उहाँ व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले हाल लिबाङमा चार रोपनी जग्गा समेत किन्नु भएको छ । उहाँले आफ्नै लगानीममा बधशाला निर्माण गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हाल सरकारी जागिरमा प्रवेश गर्नुभएको छ ।

जिल्ला पशुसेवा कार्यालयले उहाँको कामको मूल्याङ्कन गर्दै रु दुई लाख ४० हजार अनुदान दिएको छ । बुढामगर जिल्लामा सफल व्यवसायीका रूपमा स्थापित हुनुभएको छ ।

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा निमबहादुर सिंहका अनुसार राँगा तथा भैँसी काट्न लिबाङमा दुईवटा, सुलिचौर र घर्तीगाउँमा एक÷एकवटा बधस्थल तथा मासु पसल सञ्चालनमा रहेका छन् । उनीहरूले छालाको डोको समेत बनाउँदै आएका र कार्यालयले सो सम्बन्धी तालिम समेत प्रदान गर्दैआएको सिंह बताउनुहुन्छ ।

Leave A Reply