ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी

0

काठमाडौँ, ३ फागुन
राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ ।
मानव विकास तथा जागरण मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले देशका हरेक निर्वाचन क्षेत्रबाट युवाहरुलाई पाँच लाखको निब्र्याजी ऋण उपलब्ध गराउने बताउनुभयो । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् ।
सो ऋणबापत प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ ।
ऋणकालागि कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।
राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसदहरु रामेश्वर फुयाँल र कलशादेवी महरालले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा जोड दिनु आवश्यक भएको बताउनुभयो ।

Leave A Reply