खेल समाचार ११–०४

0

नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ ।

काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट यही फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाव्यापी प्रतियोगितामा यी तीन खेलसहित कराँते, तेक्वान्दो र उसुमा पनि प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले बताउनुभयो । फागुन २० गतेदेखि २२ गतेसम्म सो प्रतियोगिता सञ्चालन हुनेछ ।

विशाल बिष्ट स्मृति लिबर्टी कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएका खेलमा लिवर्टी ए, क्वेस्ट र कसमस कलेज विजयी भएका छन् ।

ललिपुरको च्यासल मैदानमा भएको पहिलो खेलमा लिबर्टी ‘ए’ ले सान्त्वना कलेजलाई ३–० गोल अन्तरले हरायो । दोस्रो खेलमा क्वेस्ट कलेजले आयामलाई १–० गोल अन्तरले हराएको छ ।

बुधबार नै भएको तेस्रो खेलमा कसमसले एनइसी कलेजलाई २–० गोल अन्तरले हराएको लिबर्टी कलेजकी राधा भन्डारीले जानकारी दिनुभयो । फागुन १ गतदेखि चलेकोे प्रतियोगितामा २० वटा भन्दा बढी कलेजको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी ७ गते दशरथ रंगशालामा हुनेछ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुएको छ ।

करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकुद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताउनुभयो ।

Leave A Reply