खेल समाचार बैशाख–०५

0

काठमाडौं, ५ बैशाख । राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् ।

नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता एक सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ जना रहेका छन । दुवै समूहका एक सय १० जना खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न परिषदले मन्त्री थापालाई पुन ध्यानाकर्षण गराएको हो ।

त्यस अवसरमा मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । परिषदले खेलाडीहरुको प्रोत्साहनवापत सरकारले रकम दिँदै आएकोमा पनि आभार व्यक्त गरेको थियो ।

धनगढी प्रिमिएर लिग अन्तर्गत प्लेअफ चरणको पहिलो क्वालिफायर खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स र शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस भिड्दैछन् ।

लिग चरणमा शीर्षस्थानमा रही छनोट भएको रुपन्देहीले आफुले खेलेको पाँच खेलमध्य चार खेलमा जित दर्ता गरेको थियो। उता बिराटनगरले भने ३ जित र २ हारसँगै ६ अंकका साथ लिग तालिकाको दोश्रो स्थानमा रहेर छनोट भएको हो ।

प्रतियोगिताको अन्तिम लिग खेलमा रुपन्देही टिम चौराह धनगढीसँग पराजित भएको थियो । पहिलो क्वालिफायर्स जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग पुनः फाइनल प्रवेशका निम्ति दोश्रो क्वालिफायर्स खेल्नेछ । खेल बुधबार बिहान ९ बजे धनगढी स्थित अंचल प्रहरी कार्यालयको मैदानमा हुनेछ ।

Leave A Reply