खेल समाचार चैत्र–४

0

काठमाडौं, ४ चैत्र । अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । दोस्रो छनौटपछि अन्तिम २७ मा परेका खेलाडीमध्येबाट देभेन्द्र तामाङ र सुमन लामा चोटका कारण बाहिरिएका छन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा स्थान बनाउन असफल रहे ।

त्यस्तै घरेलु नकआउट फुटबलका स्टार स्ट्राइकर कर्ण लिम्बु ३ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । सन् २०१४ मा यमनबिरुद्धको खेलपछि उनी राष्ट्रिय टोलीमा अटाएका थिएनन् । नेपालको राष्ट्रिय टिमबाट उनले एकमात्र खेल खेलेका छन् । सुपरस्टार नवयुग श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि प्रशिक्षक कोजुले कर्णलाई टिममा समावेश गरेका हुन् । एसियन कपको छनौट अन्तर्गतको पहिलो खेलमा नेपालले आगामी चैत १५ गते फिलिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१८ मा चीनमा हुने एएफसी अण्डर २३ च्यामिपयनसीपको छनौट प्रतियोगितामा नेपाल युएईसँगै समूह डी मा परेको छ ।

शुक्रबार एएफसी मुख्यालयमा भएको छनौट ड्र मा नेपाल समूह डी मा परेको हो । समूह डीमा नेपालसँगै युएई, उज्वेकिस्तान र लेवनान छन् । समूह डी अन्तर्गतको छनौट खेल आगामी १५ देखि २३ जुलाईमा युएईमा हुनेछ ।

नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।
युएई गत संस्करणको क्वार्टरफाइनललिष्ट टोली हो भने उज्वेकिस्तानले समूह चरण पार गर्न सकेको थिएन । लेवनान र नेपालले अहिलेसम्म छनौट चरणपनि पार गर्न सकेका छैनन ।

एसियाका ४० टोलीलाई पूर्वी एसिया र पश्चिम एसिया गरी दुई भागमा बिभाजन गरेर पाँच पाँच समूह बनाइएको छ । समूहको बिजेता र उत्कृष्ट ६ उपविजेता गरी १६ टिमले अर्को वर्ष चीनमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Leave A Reply