खानेपानी तथा सरसफाइ कार्यक्रमलाई थप चुस्त तुल्याउँदै विस्तार गर्न निर्देशन

0

काठमाडौँ, २७ पुस । व्यवस्थापिका–संसद्, विकास समितिले अन्तराष्ट्रिय क्षेत्रमै नमुना परियोजनाका रुपमा रहेको नेपालको साना सहरी खानेपानी तथा सरसफाइ कार्यक्रमलाई थप चुस्त तुल्याउँदै विस्तार गर्न निर्देशन दिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा पहिलो चरणमा २९ साना सहरमा सञ्चालित उक्त परियोजनाबाट छ लाख जना लाभान्वित भएका थिए । पहिलो चरणको सफलतापछि उक्त बैंकको अनुदान सहयोगमा अहिले मुलुकका २१ साना सहरमा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमबाट तीन लाख ६० हजार जनता लाभान्वित हुने अनुमान गरिएको छ ।

एसियाली विकास बैंककै ऋण सहयोगमा अघिल्लो आवदेखि २६ सहरमा सुरु गरिएको आयोजनाबाट थप तीन लाख ९० हजार जनाले स्वच्छ खानेपानी र सरसफाइ सुविधा प्राप्त गर्नेछन् ।

समितिको हिजोको बैठकले मिति तोकेर आयोजना पूरा गर्ने लक्ष्य र कार्यक्रम बनाउन, उपभोक्ताको हितलाई हेरेर सहुलियत र छुटका कार्यक्रम अघि बढाउन तथा नारा दिने तर कार्यान्वयन नहुने अवस्था अन्त्य गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले गुणस्तरीय खानेपानी वितरण र आयोजनालाई दीर्घजीवी तुल्याउने कार्यमा उपभोक्तालगायत सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सना सहरी खानेपानीका लागि सरकारले ३२ करोड उपलब्ध गराएको बताउनुभयो । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले खानेपानी आयोजनामा तराईमा सिँचाइमा दिइएको जस्तो छुट दिने विषयमा मन्त्रालय सकारात्मक नै छ भन्नुभयो ।

Leave A Reply