उम्मेदवारीका लागि महिलाको उत्साहाजनक सहभागिता

0

चितवन, ५ वैशाख । उन्नाइस वर्षअघि भएको स्थानीय निकायको निर्वाचनमा चितवनबाट पदाधिकारी पदमा एकजना महिलाको मात्र उम्मेदवारी परेको थियो । तर अब हुन लागेको स्थानीय तहको निर्वाचनमा महानगरदेखि गाउँपालिकासम्मको नेतृत्व तहमा महिलाले उम्मेदवारी दिइने आँट गरेकि छिन् ।

राजनीतिक परिवर्तनका लागि हुने विभिन्न आन्दोलनमा महिलाको सहभागिता उल्लेखनीय रह्यो । मुलुकमा भएको राजनीतिक परिवर्तनसंगै संवैधानिक रुपमा नै कूल उम्मेदवारीको ४० प्रतिशत अवसर प्राप्त गरेपछि महिलामा यो ऊर्जा थपिएको हो ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठकाअनुसार जिल्लाका सात स्थानीय तहमध्ये चारवटाको प्रमुखमा महिलाले दाबी गरेकि छिन् । काँग्रेसकातर्फबाट रत्ननगरको प्रमुखमा गङ्गामाया भन्तना, राप्तिमा अनिता मैनाली, खैरहनी नगरपालिकामा सुुशीला उप्रेतीले दाबी गरेकि छिन् भने इच्छाकामना गाउँपालिकामा गिता गुरुङ्ले दाबी गरेकि श्रेष्ठले बताउनुभयो ।

त्यस्तै महानगर, नगर र गाउँपालिकाको उपप्रमुखमा अधिकांश महिलाकै दाबी छ । प्रमुख वा उपप्रमुख पदमध्ये एक महिला हुनुपर्ने प्रावधानअनुसार अधिकांश महिलाको दाबी उपप्रमुखमा छ ।

भरतपुर महानगरपालिकमा काँग्रेसकातर्फबाट ३२ जना पुरुषले प्रमुखमा दाबी गरेका छन्, भने १५ जनाले उप प्रमुखको दाबी गरेका छन् । उपप्रमुखको दाबी गर्नेमा एक पुरुष र १४ महिला छन् । नेकपा एमालेमा भरतपुर महानगरपालिकामा सूर्यबदना हमाल र उमा कार्कीले प्रमुख पदमा दाबी गर्नुभएको छ भने राप्ति नगरपालिकामा प्रमुखमा प्रभा बराल, माडीमा बिना तिमिल्सिनाले दाबी गरेको एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताउनुभयो ।

पार्टीले केन्द्रमा तीनजना सिफारिस गर्दा प्रमुख र उपप्रमुख एक÷एकजना महिला सिफारिस गर्नैपर्ने बताउँदै उहाँले वडा तहमा पनि महिलाको दाबी रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष यमबहादुर परियारले महिलाको सक्रियता निकै राम्रो रहेको बताउनुभयो । पार्टीको क्षेत्र तहमानै छलफल भइरहेकाले एकिन अहिले भन्न नसकिए पनि महिलाको सिफारिस सकारात्मक ढङ्गबाट आइरहेको र सन्तोषजनक रहेको बताउनुभयो ।

केही दिनमा उम्मेदवारी तय भएपछि एकिन भन्न सकिने उहाँले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले नगर र गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा महिलाको दाबी रहेको भन्दै अधिकतम महिलाको सहभागिता रहने बताउनुभयो ।

वैशाख ७ गते सम्ममा टुङ्गो लाग्ने भन्दै उहाँले सक्रिय राजनीतिमा महिला लागेकाले आशालाग्दो उपस्थिति पार्टीमा हुने बताउनुभयो ।

चितवन क्षेत्र नम्बर– ४ का नेपाली काँग्रेसका तर्फबाट निर्वा्चित सांसद एवम् पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे २०५४ सालमा स्थानीय निकायको निर्वाचन हुँदा शिवनगर गाउँ विकास समितिमा समग्र महिलाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा ईन्द्र गुरुङ्ले विजयी हासिल गरेको बताउनुहुन्छ । आफ्नो पार्टीकोबाहेक कसैको पनि मुख्य पदमा जिल्लामा महिला उम्मेदवारको जित नभएको उहाँले बताउनुभयो ।

अहिले महिलाको सहभागिता निकै राम्रो रहेको घिमिरेले बताउनुभयो । चितवन क्षेत्र नम्बर– ३ बाट नेकपा एमालेका तर्फबाट निर्वा्चित सांसद एवम् नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोख्रेल २०५४ सालमा पदाधिकारी तहमा नेकपा एमालेका तर्फबाट महिलामा भोजपुर जिल्लाको उपसभापति जयन्ती राईले मात्र निर्वाचनमा विजयी भएको बताउनुहुन्छ ।

संवैधानिक रुपमा महिलालाई अवसर दिएका कारणले पनि महिलामा यो ऊर्जा आएको उहाँको ठम्याइ छ । नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष पार्वती शाह संविधानले तोके भन्दा बढी उम्मेदवार महिला बनाउन आफू लागिरहेको बताउनुहुन्छ ।

स्थानीय तह महिलाले हाक्नसक्ने भन्दै उहाँले ‘सक्षम उम्मेदवार महिला रहेको बताउनुभयो ’। नेकपा एमाले चितवनका सचिव एवम् महिला नेतृ दिलकुमारी रावल कानुनी व्यवस्थाले गर्दा महिलामा यो ऊर्जा पैदा भएको बताउनुहुन्छ । जनतामा महिलाले काम गर्न सक्छन्, भन्ने विश्वास दिलाउन सकेकाले महिला उम्मेदवारको विजय सहज रहेको पनि उहाँले बताउनुभयो ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी चितवनकी अध्यक्ष सङ्गिता भट्टराई साथीको इच्छा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा रहेको बताउनुहुन्छ ।

जिल्लामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ति, कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।

Leave A Reply