उत्पादनमूलक उद्योगमा लगानी गरेर विदेशी लगानीकर्ताहरुलाई लाभ लिनसक्ने –मन्त्री जोशी

0

काठमाडौं, ५ फागुन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा पूर्वाधार विकासका साथै उत्पादनमूलक उद्योगमा लगानी गरेर विदेशी लगानीकर्ताहरुलाई लाभ लिनसक्ने बताउनु भएको छ ।

सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा वुधवार उद्योग मन्त्रालयमा आयोजित नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिर्धिहरु सँगको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी विधेयक व्यवस्थापिका संसद्मा छिट्टै प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रस्तावित विधेयकमा नेपाली लगानीकर्ता सरह विदेशी लगानीकर्तालाई पनि छुट सुविधाहरुको व्यवस्थाका साथै विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुले नेपालमा औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको औंल्याउनु भयो ।

कार्यक्रममा नेपाल स्थित फ्रान्स, अमेरिका, वेलायत, जापान र जर्मनीका कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल लगानी सम्मेलनमा सभागिताका लागि हालसम्म विभिन्न देशका ४० जना उद्योगी व्यवसायीहरुले प्रतिवद्धता जनाइसकेको पनि त्यस अवसरमा जानकारी दिइयो ।

Leave A Reply