आर्थिक समाचार

0

काठमाडौँ, ७ चैत

पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरी क्षमताको ७५ प्रतिशतसम्म पु¥याएको छ ।

उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनु भयो ।

उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेलले बताउनु भयो ।

चालु आवको अन्त्यसम्ममा उद्योगले २५ देखि ३० करोडसम्म आम्दानी गर्नेसमेत उद्योग व्यवस्थापनको दाबी छ । उद्योगमा अहिले साढे दुईलाख लाख बोरा भन्दा बढी सिमेन्ट भण्डार गरिराखिएको छ । उदयपुर सिमेन्ट उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता आठ सय मेट्रिक टन हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसंग आयोगको सचिवालयमा आइतवार भएको भेटमा डा श्रेष्ठले नेपालले ऊर्जा विकासमा विस्तारै प्रगति गर्दै गरेको र आगामी केही वर्षमा उल्लेख्य प्रगति हुने बताउनुभयो ।

भेटका अवसरमा उपमहासचिव आचार्यले राजनीतिक अस्थिरताका बाबजुत नेपालले हासिल गरेको सफलताका कथालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

बाबियाचौर म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि तीन अर्बभन्दा बढी लगानी गरेका छन् ।

किसानले व्यावसायिक रुपमा गाईभैँसी, भेडा र बाख्रापालन गर्न तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैँसी र दुई सय ८७ वटा भेडाबाख्रा फार्म संचालनमा रहेका छन् ।
व्यावसायिक पशुपालनको माध्यमबाट जिल्लामा एक हजार पाँच सयजनाले रोजगारी पाएका छन् । दूध उत्पादनका लागि स्थानीय लिमे, पारकोट, उन्नत मुर्रा तथा वर्णशङ्कर जातका भैँसी पालिएको छ । किसानले स्थानीय, जर्सी र होलस्ट्यान जातका गाईपालन गरेका वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

Leave A Reply