आर्थिक समाचार बैशाख–४

0

काठमाडौं, ४ बैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बाँकी तीन महिनामा अधिकतम पूँजीगत खर्च हुने गरी युद्धस्तरमा काम गर्न अर्थ मन्त्रालय र मातहतका निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित अर्थ मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री महराले आगामी आर्थिक वर्षको बजेट तर्जूमा गर्दा पनि ५० प्रतिशतभन्दा बढी खर्च गर्न नसकिने कार्यक्रमहरुमा बजेट विनियोजन नगर्न निर्देशन दिनुभयो ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. पुण्यप्रसाद रेग्मीले स्वरोजगार कोषहरु जस्ता पाँच छवटा अन्य कोषलाई एकीकृत गरेर तिनीहरुको कार्यान्वयन क्षमतालाई सुदृढ गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अर्थसचिव डा. शान्तराज सुबेदीले चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा पनि पूँजीगत खर्च चाहे जस्तो हुन नसकेको उल्लेख गर्दै सुम्पिएका काम ध्यान दिएर सम्पन्न गर्न सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।

अर्थसचिव डा. सुबेदीले आयात प्रतिस्थापनबाट पनि मुलुकको बढ्दो व्यापार घाटा कम गर्न सकिने भएकाले कृषि र पशुजन्य उत्पादन तथा ऊर्जा क्षेत्रमा सरल एवं सहजरुपले कर्जा प्रवाहको व्यवस्था मिलाउन सम्बद्ध पदाधिकारीहरुको ध्यानाकर्षण गर्नुभयो ।

मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार कार्यालयबाट चालु आर्थिक बर्षको पहिलो ९ महिनाको अवधिमा भारत लगायत तेश्रो मुलुकमा २१ अर्ब रुपियाँभन्दा बढीको मालवस्तु निर्यात भएको छ ।

कार्यालयका अनुसार, बीरगंज नाकाबाट यस अवधिमा जुस, दन्तमन्जन, पिना, फलामे जिआईपाईप, रेसादार कपडा, उनी गलैचा, फिड सप्लीमेन्ट, आयुर्वेदीक औषधी, तयारी कपडा, प्लाष्टिकका सामान लगायतका गरी १ सय ७५ भन्दा बढी स्वदेशी उत्पादन भारत तथा तेश्रो मुलुकमा निर्यात भएको छ ।

सरकारले एक प्रतिशत भन्सार महशूलमा चिनी आयात गर्न दिएको कोटा अनुसारको चिनी आगामी हप्तादेखि मुलुकमा भित्रिन शुरु हुने साल्ट ट्रेडिङ कर्पोरेशनलेजनाएको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले एक प्रतिशत भन्सार महशूलमा ५० हजार मेट्रिक टन चिनी आयात गर्न कर्पोरेशनलाई कोटा उपलब्ध गराएको र सोही अनुसार पहिलो लटको चिनी आगामी हप्ता मुलुकमा भित्रिने जानकारी दिनुभयो ।

उहाँले पहिलो लटमा साढे सातहजार मेट्रिक टन र त्यसपछि क्रमिक रुपमा गर्दै आगामी दशैं अगाडि ५० हजार मेट्रिक टन चिनि आयात भइसक्ने बताउनुभयो ।

Leave A Reply