आर्थिक समाचार बैशाख–०८

0

काठमाडौं, ८ बैशाख । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल भरिभराउ हुन थालेका हुन् ।

फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ ।माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यस मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।

नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै सात हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ ।

मुस्ताङको “लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा रहेका छन ।

व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ ।

आयोजनाका प्रमुख सोमनाथ घिमिरेले अहिले विभिन्न क्षेत्रबाट आधुनिक यन्त्रको प्रयोग बढाउने काम भइरहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा तरकारीका लागि विशेष पकेट क्षेत्र (तरकारी जोन)को विकास गर्न पश्चिम चितवनमा पाँच सय हेक्टर र माछा उत्पादन गर्न एक सय हेक्टरमा परियोजना सञ्चालन भएको हो ।

उहाँले किसानको मागअनुसार कृषिमा यान्त्रीकरणको प्रयोगमा जोड दिइने जानकारी दिनुभयो । कृषि जोनले किसानलाई प्रोत्साहन गर्न सहयोग मिल्ने स्थानीयवासी विजय भुसालले बताउनुभयो ।

Leave A Reply