आर्थिक समाचार बैशाख–०७

0

काठमाडौं, ७ बैशाख । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग बिहिबार आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन यस्तो योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको बताउनुभयो ।

उद्योगमन्त्री जोशीले अहिले नेपालमा लगानीको वातावरण बनेकाले लगानी गर्न सबै मित्रराष्ट्रलाई आग्रह पनि गर्नुभयो ।

लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाउनुभयो ।

छलफलमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयले नेपालमा औद्योगीकरण लागि विदेशी लगानी भित्र्याउने उद्देश्यले गत फागुन २२ र २३ गते लगानी सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा विदेशी लगानीकर्ताले रु १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया थालिएको छ ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज)का रुपमा चिनिन थालेको छ । जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताउनुभयो ।

झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् ।

एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि तीन लाखसम्मको कारोबार गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

गर्मी समयमा २२ दिनामा तथा जाडोको समयमा करिब ३० दिनमा तयार हुने च्याउ बजारमा प्रतिकिलो रु १०० मा बिक्री हुने गरेको कृषकले बताएका छन् ।

Leave A Reply