आर्थिक समाचार फागुन–०४

0

जापान सरकारले नेपाललाई पोखरा खानेपानी सुधार परियोजना कार्यान्वयनका लागि करिव चार अर्ब ५३ करोड रुपियाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

अनुदान सहयोग सम्बन्धी पत्रमा आज अर्थ मन्त्रालयमा अर्थसचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले हस्ताक्षर गर्नुभयो ।

सोही अवसरमा सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपालस्थित कार्यालयका प्रमुख प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गर्नुभयो ।

पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत पोखरा उपमहानगरपालिकामा खानेपानी प्रशोधन संयन्त्र र खानेपानी ट्याङ्कीको स्थापना तथा खानेपानी वितरण प्रणालीको सुधार लगायतका खानेपानी आपूर्ति सुधारका कार्यहरु गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, परियोजना अन्तर्गत स्थापना गरिने खानेपानी प्रशोधन संयन्त्रबाट दैनिक चार करोड लिटरभन्दा बढी खानेपानी प्रशोधन हुने र परियोजनाबाट पोखराका चार लाख पाँच हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् ।

पोखरा खानेपानी सुधार परियोजना आगामी सन् २०२२ को डिसेम्बरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा पूर्वाधार विकासका साथै उत्पादनमूलक उद्योगमा लगानी गरेर विदेशी लगानीकर्ताहरुलाई लाभ लिनसक्ने बताउनुभएको छ ।

सरकारले यही फागुन १९ र २० गते काठमाडौंमा आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनको तयारीका वारेमा वुधवार उद्योग मन्त्रालयमा आयोजित नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिर्धिहरु सँगको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री जोशीले विदेशी लगानी तथा प्रविधि हस्तातरण सम्वन्धी विधेयक व्यवस्थापिका संसद्मा छिट्टै प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रस्तावित विधेयकमा नेपाली लगानीकर्ता सरह विदेशी लगानीकर्तालाई पनि छुट सुविधाहरुको व्यवस्थाका साथै विदेशी लगानीको प्रवेश तथा बहिर्गमनलाई सरलिकृत बनाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुले नेपालमा औद्योगिक वातावरण वन्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वौद्धिक सम्पत्ति सम्वन्धी ऐन र श्रम ऐनमा समसामयिक सुधार आवश्यक रहेको औंल्याउनु भयो ।

कार्यक्रममा नेपाल स्थित फ्रान्स, अमेरिका, वेलायत, जापान र जर्मनीका कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल लगानी सम्मेलनमा सभागिताका लागि हालसम्म विभिन्न देशका ४० जना उद्योगी व्यवसायीहरुले प्रतिवद्धता जनाइसकेको पनि त्यस अवसरमा जानकारी दिइयो ।

Leave A Reply