आर्थिक समाचार चैत्र–४

0

काठमाडौं, ४ चैत्र । ऊर्जामन्त्री जनार्दन शर्माले परीक्षाको समय पारेर अहिले देशलाई विद्युत्भार कटौतीमुक्त गरिएको बताउनु भएकोे छ ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शुक्रवार ललितपुरमा उद्घाटन गर्दै मन्त्री शर्माले विद्युत्भार कटौतीमुक्तको अवस्थालाई निरन्तर रूपमा अगाडि बढाउने योजनामा सरकार लागेको बताउनुभयो ।

मन्त्री शर्माले पश्चिम कर्णाली आयोजना आम राष्ट्रसेवक कर्मचारीहरुको लगानीमा निर्माण गर्ने र माथिल्लो अरूणमा नागरिक लगानी कोषको पैसा लगानी गरेर नेपाल विद्युत् प्राधिकरणले योजना अगाडि बढाउने तयारी भएको पनि जानकारी दिनु भयो ।

बीरगंज उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा एकतर्फी ब्याज दर बृद्धि गरेपछि यसको नकरात्मक प्रभाव उद्योग व्यवसायमा परेको जनाएको छ ।

वीरगंज उद्योग वाणिज्य संघले आज एक विज्ञप्ती जारी गर्दैै विद्यमान जटिल परिस्थितिमा बैंक तथा वित्तीय क्षेत्रले उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई राहत प्रदान गर्न सहजीकरणको भूमिका खेल्नुपर्नेमा उल्टै शतप्रतिशत ब्याज बृद्धि गरि समग्र निजी क्षेत्रलाई हतोत्साहित तुल्याएको उल्लेख गरिएको छ ।

मौद्रिक तरलताका नाउँमा बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसायहरुले ऋण लिँदाका बखत कबुल गरेको ऋणको ब्याजदर भन्दा दोब्बर ब्याज असुल गरिरहेकोले उद्योगी व्यवसायीहरु ठूलो मारमा परेको बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताउनु भयो ।

एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउ अमेरिका निर्यात हुन थालेको उद्योगले जनाएको छ ।

नेपालमा उत्पादित चाउचाउको अमेरिकामा माग हुन थालेकोले निर्यात गर्न थालेको उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले बताउनुभयो ।

अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु राम्रो भएको भन्दै अस्ट्रेलिया, दुबई र कतारमा समेत रमपम चाउचाउ निर्यात गर्न थालेको जानकारी पनि जाजुले दिनु भयो ।

सुनसरीको सोनापुरमा रहेको उद्योगले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात गरिरहेको र आगामी छ महिनाभित्रमा १० लाख प्याकेट पु¥याउने तयारी भइरहेको उद्योगले जनाएको छ ।

Leave A Reply